डिजिटल वालेटहरु मर्ज गरेर फाइदा छैन: अमित अग्रवाल
मानिसले आफूसँग भएको रकम सुरक्षित तवरले जम्मा गर्ने, अरुलाई सजिलै भुक्तानी दिन मिल्ने, आयको निश्चित रकम मित्तव्ययी तवरले प्रयोग गरेर आर्थिक समृद्धिमा अघि बढ्नका लागि सहज र समयानुकूल ढङ्गबाट कार्य सम्पादन गर्न सकियोस् भन्ने उद्देश्यका साथ बैंकिङ अवधारणा अगाडि आएको हो । यसले मानिसको रकम चोरी हुन, फजुल खर्च हुन, भौतिक रुपमा मासिन नासिन सक्ने परिस्थितिबाट जोगाउन सहयोग गर्दै आएको छ । समयको गतिशीलतासँगै मानिसको दैनिकीमा आएको परिवर्तन, भागदौड, अस्तव्यस्ततालाई चिर्दै आइपर्ने समस्याहरुको चुस्त–दुरुस्त समाधानका लागि बैंक एक्लैले काम गर्न नसक्ने परिस्थितिको सिर्जना हुन पुग्यो ।
फलतः वालेटहरु प्रयोगमा आउन थाले । जसले मानिसको आर्थिक गतिविधिलाई सन्तुलित र सहज बनाउन उल्लेख्य भूमिका खेल्न थाल्यो । ती विविध एपहरुमध्ये खल्ती डिजिटल वालेट पनि एक हो । जसको लोकप्रियता दिन–प्रतिदिन बढ्दै गइरहेको छ । खल्तीप्रति आम मानिसहरुको विश्वसनीयता कस्तो छ ? यसले कसरी काम गर्छ ? आगामी दिनमा मानिसहरुको आर्थिक पक्षलाई अझै प्रभावकारी ढङ्गले सम्बोधन गर्न खल्तीले के–कस्ता रणनीतिहरु अपनाएको छ ? आदि जस्ता विषय सन्दर्भमाथि केन्द्रित रहेर खल्ती एपका संस्थापक/सञ्चालक अमित अग्रवालसँग वित्तीय साक्षरताका लागि गरिएको कुराकानीको सारसङ्क्षेप :
१. खल्ती आजको दिनमा नाफामा छ कि घाटामा छ, लगानी कति पुग्यो ?
खल्तीमा नगन्य मात्रामा बौद्धिक लगानी भएकोले यति नै हो भनेर रुपैयाँमा भन्न सकिने अवस्था छैन। यद्यपि, हाम्रा को–फाउण्डरहरुले विदेशी आउटसोर्सिङ काम गरेको भए महिनाको १५–२० हजार डलर कमाउन सक्थे, त्यो क्षमता उनीहरुमा छ । तर, खल्तीमा ६ वर्षदेखि ४ जना को–फाउण्डरहरुले मिनिमम स्केलमा वा तलबमा काम गरिरहेका छन् । अहिले त मिटिङ भत्ता मात्र लिने गर्दछौँ हामी। त्यतिबेला पनि १६ घण्टासम्म दैनिक काम गर्ने गरिन्थ्यो । त्यो लगानी कति हो भनेर तथ्यगत रुपमा भन्न सकिँदैन। अहिले हामी नाफामा भन्दा पनि नेपाली डिजिटल पेमेन्टलाई गति दिनमा नै लागिपरेका छौँ, निकट भविष्यमा हाम्रो बजार छ भन्ने चाहिँ देखेका छौँ । अहिले वर्डलिङ्कले लगानी गरेर खल्तीको ४० प्रतिशत शेयर लिएको छ।
२. खल्तीको साधारण शेयर (आइपियो) कहिले आउँछ ?
खल्तीको आइपिओ आउनको लागि सेबनको पोलिसीमै चेन्ज भए मात्र सम्भव छ । एक त हाम्रो बुक्समा त्यति ठूलो फाइदा हुँदैन। तर, हाम्रो लगानी धेरै ठूलो भइसकेको छ । अहिलेकै अवस्थामा हाम्रो फाइदालाई हेर्ने हो भने आइपिओ सम्भव छैन ।
अर्को त पोलिसी चेन्ज गर्नुपर्यो, बुक बिल्डिङ बनाउने, नेटवर्थ बनाउनुपर्यो, त्यसो हुँदा मात्र अबको ३–४ वर्ष पछि यो सम्भव होला ।
खल्तीको आइपिओ (IPO) आउनको लागि
सेबनको पोलिसीमै चेन्ज भए मात्र सम्भव छ ।
३. डिजिटल साक्षरताको अभिवृद्धिका लागि खल्तीले के–कस्ता कामहरु गरिरहेको छ?
हामीले ठाउँ–ठाउँमा गएर साक्षरताका कार्यक्रमहरु गरिरहेका छौँ। हामीले डिजिटल साक्षरतामा रहेर खल्ती क्विज भनेर पनि सञ्चालन गरेका छौँ । क्विजको प्लेटफर्म प्रयोग गरेर मान्छेलाई सचेत गराउने चाहिँ हाम्रो थर्ड प्रोसेस हो ।
हामी स्मार्ट छोरीमार्फत् छोरीहरुलाई डिजिटल कारोबारमा ल्याउन धेरै समय लागि पर्यौ “अब फेरि स्मार्ट छोरी निकट भविष्यमा नै लन्च गर्छौ” स्मार्ट छोरी कार्यक्रम खल्ती डिजिटल वालेट एप भित्रको निःशुल्क ई–लर्निङ प्लेटफर्म हो जहाँ केटीहरूले डिजिटल वालेट, बैंक खाता खोल्ने, पैसा व्यवस्थापन, अनलाइन सुरक्षा, डिजिटल भुक्तानी र व्यक्तिगत वित्तका आधारभूत कुराहरू सिक्न सक्छन्। स्मार्टफोन र इन्टरनेटको पहुँच भएका १५ देखि ३५ वर्ष उमेर समूहका युवतीहरूले कार्यक्रममा सहभागी हुन सक्छन्। यसले वित्तीय साक्षरताको क्षेत्रमा केटीहरूलाई प्रोत्साहित गर्न सघाउ पुग्दछ ।
“स्मार्ट छोरी कार्यक्रम खल्ती डिजिटल वालेट एप भित्रको निःशुल्क ई–लर्निङ प्लेटफर्म हो
जहाँ केटीहरूले डिजिटल साक्षरता र व्यक्तिगत वित्तका आधारभूत कुराहरू सिक्न सक्छन् ।”
त्यसपछि हामीले डिजिटल एम्बास्डरहरु पनि बनाउँछौँ । रेगुलर खल्तीका कुराका भिडियो सिरिजहरु पनि ल्याइरहेका छौँ । हाम्रो एपमा मात्र ३०० प्लस भिडियोहरु छन्, ती सबै वित्तीय साक्षरताको लागि हो । हरेक सर्भिसेसको एक एक भिडियो रहेको छ । आजको दिनमा डेडिकेटेड सपोर्ट, सर्भिसेस र लिटरेसीको कुरामा हामी एकदम मेहनतका साथ काम गरिरहेका छौँ । हामीले सपोर्टमा मात्र नभई टेक्नोलोजीको अटोमेसनको टुलमा पनि उत्तिकै खर्च गरेका छौँ, जुन ग्राहकको सहजताका साथै डिजिटल लिटरेसीका लागि पनि हो ।
४. बैंकले वालेटरुलाई सहयोग गरेका छन् कि प्रतिस्पर्धीका रुपमा हेरेका छन्?
हामीले अहिले बैंकको लागि एटिएम मेसिनको जस्तो काम गरिरहेका छौँ । सुरुमा जब एटिएम मेसिन आउनेवाला थियो, त्यो समयमा बैंकहरु तर्सिएका थिए, किन यस्तो महँगो कुरा ल्याउने, यसले झन् पैसा झिक्ने बाटो बनाइरहेको छ, एटिएम मेसिन, सिसिटिभी, रेन्ट, मेन्टेनेन्स कस्ट, मेनपावर अर्कोतर्फ चोरी हुने डर हुन्छ, यो आवश्यक छैन भन्थे । तर, पछि मान्छेहरुलाई जब आफूले चाहेको बेला एटिएमबाट पैसा निकाल्न पाइने, कतै तिर्न, कारोबार गर्न सहज हुने, चोरी हुने, हराउने जोखिमको न्यूनीकरण हुने भएपछि मान्छेले क्यास बोक्नुको सट्टा बैंकमा पैसा राख्न थाले। बैंकको डिपोटिट बढ्न थाल्यो । अहिले त्यो काम वालेटले गरिदिएको छ ।
पैसा बैंकमा आउँदा बैंकले लगानी गर्न थाले, उद्योगधन्दाको विकास हुने क्रम बढ्यो । रोजगारीको अवसर सिर्जना भयो तब उद्यमशीलता बढ्न गयो, पैसाको सदुपयोग हुन गयो । फलतः बैंकहरुको नाफामा वृद्धि भयो ।
“हामीले अहिले बैंकको लागि एटिएम मेसिनको जस्तो काम गरिरहेका छौँ ।”
बैंक भनेको ठूलो पैसा होल्ड गर्ने, रेगुलेटेड, म्याचुअर्ड, कम्प्लाइन्स गर्ने संस्था वा बेस इन्फास्टक्चर हो । त्यसमाथि वालेटले समन्वय गरी काम गर्ने हो । बैंकले भविष्यमा त प्लान मात्र बेच्ने हो, बैंकिङ भनेको ग्राहकको पैसा सुरक्षित राखिदिने, ठूलो भोलुममा राखिदिने बेस संस्था हो । ग्राहकले आफ्नो पैसा आफूले चाहेको ठाउँमा आफ्नो इच्छाअनुसार खर्च गर्न पाओस् भन्ने हो । त्यो सुविधा दिनलाई बैंक एक्लैले सक्दैन। हामी बैंकको प्रतिस्पर्धी पनि हैन, बैंकले पनि त्यो सोच्नु भएन र सोचेका पनि छैनन् भन्ने हाम्रो बुझाइ हो ।
५. बैंकले मोबाइल बैंकिङमार्फत् वालेटको सेवा प्रदान गर्ने क्रम बढ्दो मात्रामा छ, यस किसिमको प्रतिस्पर्धाले वालेटको भविष्य कस्तो रहला?
हामी प्रतिस्पर्धीभन्दा पनि एक अर्कालाई कम्प्लिमेन्ट भन्छौँ, सुरुमा किन सेवा उस्ताउस्तै लाग्यो भने बजारमा जम्मा ६ प्रतिशत मर्चेन्ट डिजिटलाइज भएको छ, जुन युटिलिटी पेमेन्टसँग सम्बन्धित छ । ती कुरा बैंकको एपमा पनि छ, वालेटमा पनि छ अनि उस्तै लागिरहेको छ । तर, खासमा ९४ प्रतिशत मर्चेन्ट डिजिटल छैनन्, जसको बिलिङ सिस्टम छैन, अनलाइन सिस्टम छैन, त्यो बैंकले ल्याउने हैन हामी जस्तो फिनटेकले ल्याउने हो ।
टेक्नोलोजी मात्र बनाएर सबैले मोबाइल बैंकिङ प्रयोग गर्दैनन्, त्यस्ता ग्राहकहरुलाई डिजिटलमा ल्याउने काम वालेटले नै विभिन्न अफर, कुपनहरु दिएर, क्यासब्याक दिएर, केवाइसी सानो बनाएने जस्ता काम गरेर नै आजको दिनमा १ करोडभन्दा माथि वालेट युजर बनाउने काम गरेको हो । ती ग्राहकहरुले वालेट चलाउँदा समय बचत हुने कुरा बोध भएपश्चात् मोबाइल बैंकिङ प्रयोग गर्न थालेका हुन् ।
“हामी प्रतिस्पर्धीभन्दा पनि हामी एक अर्कालाई कम्प्लिमेन्ट भन्छौँ,
सुरुमा किन सेवा उस्ताउस्तै लाग्यो भने बजारमा जम्मा ६ प्रतिशत मर्चेन्ट
डिजिटलाइज भएको छ, जुन युटिलिटी पेमेन्टसँग सम्बन्धित छ ।”
बैंकको एपमा पेमेन्टले १० प्रतिशत जति ठाउँ लिन्छ भने वालेटले ९० प्रतिशत लिन्छ । बैंकमा ९० प्रतिशत ओम्नी च्यानलले लिने गर्दछ । जस अन्तर्गत डिपोजिट गर्न, विद ड्र गर्न, लोन लिन, नोमिनी राख्न, एलसी खोल्न, चेकबुकको रिक्वेस्ट जस्ता काम गर्न बैंकमा भिजिट नगरिकनै गर्न सकियोस्, यदि जान परेको खण्डमा पनि थम प्रिन्ट गर्न मात्र जान परोस्, बैंकमा गएर घण्टौँ कुर्न नपरोस्, अनलाइनबाट नै खाता खोल्नेदेखि लोन लिनेसम्मको सुविधा पाहियोस् भन्ने मात्र न हो । त्यसैले नेपालमा वालेटको भविश्य उज्जल छ ।
६. भुक्तानी सेवा प्रदायक (पिएसओ) र भुक्तानी प्रणाली अपरेटर (पिएसपी) का सेवाहरु पनि उस्तै उस्तै भए भन्ने सुनिन्छ नि, यसमा तपाईँको धारणा के छ ?
सुरुवातमा भएर यस्तो भएको हो । बिस्तारै इन्डस्ट्री म्याचुअर्ड हुँदै गएपछि क्लियारिटी आउँछ । मार्केट सानो छ, मार्केटमा मान्छेहरु रेडी छैनन्, उनीहरुलाई डिजिटल लिटरेसीदेखिका सबै कुराहरु सिकाउनु पर्नेछ । पिएसओ भनेको चाहिँ नेटवर्क हो– सेटलमेन्ट गरिदिने, प्रोसेसिङ गरिदिने, फन्ड ट्रान्सफर गरिदिने आदि । तर, ग्राहक ल्याउने चाहिँ पिएसओले नै हो।
७. वालेटमा राखेको पैसाको ब्याज आउने कुरा के हो ?
राष्ट्र बैंकको भनाइअनुसार हामीले सेटलमेन्टमा राखेको पैसा केही गर्न मिल्दैन। हामीले पाउनुपर्छ भनेर राष्ट्र बैंकसँग कुरा गरिरहेका छौँ, हामीले पायौँ भने हामी ग्राहकलाई नै दिन्छौँ । गर्न पाउने नपाउने भन्दा पनि ग्राहकलाई फाइदा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीले सेटलमेन्ट बैंकसँग कुरा गर्दा राष्ट्र बैंकको नियमले हामीलाई त्यो अधिकार दिएको छैन भन्ने जवाफ पाएका छौँ ।
“वालेटमा राखेको पैसाको ब्याज हामीले पाउनुपर्छ भनेर राष्ट्र बैंकसँग कुरा गरिरहेका छौँ,
हामीले पायौँ भने हामी ग्राहकलाई नै दिन्छौँ ।”
वालेटमा ५० हजारभन्दा बढी रकम होल्ड गर्न मिल्दैन। बैंक भनेको पैसा होल्ड गर्ने मेन संस्था नै हो । हाम्रा छिमेकी देशका कुरा गर्दा इन्डिया, चाइनामा के भइरहेको छ त ? चाइनामा अलिपे, विच्याट, इन्डियामा युपिआई बेस छ । सबै एप, कन्सेप्ट के हो भने पैसा वालेटमा राख्ने हैन, बैंकमा हुने हो । ब्याज दिने काम, लोन दिने काम बैंकको हो । वालेटले फ्यासिलिटेट गर्ने हो, तिर्ने बेला सिधै बैंकबाट लिङ्क गरेर तिर्ने माध्यम वालेट हो ।
८. वालेटहरुले प्रयोगकर्ताहरुको डाटा मिसयुज गरे भन्ने आरोप छ, डाटा सुरक्षाको विषयमा खल्तीले कसरी काम गरिरहेको छ?
राष्ट्र बैंकबाट रेगुलेटेड संस्था भएकाले राष्ट्र बैंकका सबै म्यान्डेडहरु, रिपोर्टिङ, प्रक्रिया फलो गर्दछौँ । ग्राहकको सबै पैसा सेटलमेन्ट बैंकमा हुन्छ जुन नन अपरेटिङ खाता छ, त्यसको रिपोर्टिङ हामीले राष्ट्र बैंकलाई दैनिक रुपमा गर्नु पर्दछ । दोस्रो कुरा राष्ट्र बैंकले पाँच हजारभन्दा बढी कारोबारका लागि केवाइसी अनिवार्य गरेको छ, त्यो हामी गर्दछौँ ।
अहिले हामीले नेपालको मोबाइल नम्बर नभइकन केआइसी भेरिफाई गर्दैनौँ । र, युजरले डिभाइस चेन्ज गर्न पनि कोड चाहिन्छ । हाम्रो एपमा सेटिङको डिभाइस मेनेजमेन्ट छ जसभित्र तपाईँले कुन कुन डिभाइसमा चलाइराख्नुभएको छ भन्ने थाहा हुन्छ र आवश्यकता अनुसार हटाउन सकिन्छ । एक्स्ट्रनल लिङ्क्स कहाँ खोल्ने भन्ने अप्सन पनि छ, सेक्युरिटीमा बायोमेट्रिक लगइन सक्रिय राख्न सकिन्छ र हरेक ट्रान्जेक्सनमा बायोमेट्रिक लक राख्ने सुविधा रहेको छ । एपमा प्रयोग गरेको मोबाइल नम्बर पासवर्डको रुपमा प्रयोग गर्न खोज्नुभयो भने सिधै रिजेक्ट हुन्छ। पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्टान्डर्डको सबै १२ वटा प्रिन्सिपल छ, त्यो हामीले पूरै फलो गर्दछौँ । आजसम्म खल्तीमा ह्याकिङ भएको केस छैन ।
“खल्तीमा घण्टैपिच्छे कारोबारको निगरानी हुन्छ,
टेक्निकल्ली सट्टेबाजी सम्बन्धी वर्डहरु राखेर कारोबार गर्दा हाम्रो सिस्टमले रिजेक्ट गरिदिन्छ,
कारोबार सफल हुन दिँदैन । ”
हाम्रोमा घण्टैपिच्छे कारोबारको निगरानी गर्ने सिस्टम हुन्छ, टेक्निकल्ली सट्टेबाजी (Betting) सम्बन्धी वर्डहरु राखेर कारोबार गर्दा हाम्रो सिस्टमले रिजेक्ट गरिदिन्छ, कारोबार सफल हुन दिँदैन । कुनै शङ्कास्पद गतिविधि छ भने त्यो सिस्टमले पत्ता लगाउँदछ।
९. खल्ती नेपालमा गैह्रकानुनी भनिएका अनलाइन सट्टेबाजी गर्ने वेव साइटहरुमा प्रयोग भयो भन्ने आरोप छ नि?
हामीले नेपालको नियम कानुनअनुसार अवैधानिक कुनै पनि साइट अथवा व्यक्ति÷संघसंस्थासँग आफ्नो कारोबार गरेका छैनौँ । यो अनलाइन विडिङ गर्ने साइटहरुमा हाम्रो एपको एपिआईहरु प्रयोग भएका छैनन् । तर, त्यहाँ खाता खोलेका नेपालीहरुले आफ्नो पैसा लिन दिन खल्तीको खाता प्रयोग गरेको भन्ने सूचनाहरु चाहिँ आएका हुन् । त्यस्ता खातालाई सधैँका लागि बन्द गर्ने गरेका छौँ ।
कुनै व्यक्तिले खल्ती एप प्रयोग गरेर सामाजिक सञ्जाल वा अन्य अनलाइनबाट सामान किन्यो, खल्तीबाट पैसा ति¥यो तर त्यो सामान दिने मान्छेले सामान दिएन भने त्यो हाम्रो च्यानलभन्दा पनि एक व्यक्तिले अर्को व्यक्तिको खातामा पैसा पठाएको ठहर्छ । यसमा खल्तीको सेक्युरिटीको थ्रेट भन्दा पनि ग्राहकको जागरुकता (Awareness) को कमीले भएको हो । यस्ता साइटहरुको विरुद्धमा हामीले त सिआइबी, एनआरबी, एनटीएमा समेत उजुरी जानकारी गर्ने गरेका छौँ । कतिपय अवस्थामा त सिआइबीले पक्रिएर सजाय दिलाएका पनि छन् । हाम्रो एफिलिएसन विना प्रयोग गरिएका कारोबारहरु छन् जुन हामीले सट्टेबाजी गर्ने वेव साइटहरु सरकारले नै पोर्न साइट बन्द गरे जसरी नै बन्द गरिदिनुपर्दछ भनेर आवाज उठाइरहेका छौँ । तर, त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन। हामीले हरेक फन्ड ट्रान्सफरमा डिस्क्लाइमर राखेर ग्राहकहरुलाई सचत गराएने गरेका छौँ।
१०. नीतिगत रुपमा सुरुवाती दिनदेखि आजसम्म खल्तीले के–कस्ता चुनौतीहरु सामना गर्नुपर्यो?
युजरले हरेक पटक बैंकबाट खल्तीमा पैसा लोड गर्दा बैंकले खल्तीलाई चार्ज लगाउँछ, जुन खल्ती आफैँले तिर्ने गर्दछ । त्यो हाम्रो कस्ट अफ फन्ड हो । उक्त लोड गरेको पैसा तपाईँले सरकारलाई पे गर्दा कुनै सर्भिस चार्ज सरकारले हामीलाई दिँदैन, ग्राहकसँग लिनु भन्छ । हामीले त ग्राहकलाई फाईदा पो दिनुपर्छ । राज्यको लागि राजस्व त्यति ठूलो रकम उठाउँदा ग्राहकसँग पैसा लिनु भन्नु नै सरकारको हामीप्रतिको उदासिनता हो । सरकारसँग हाम्रो गुनासो पनि यही हो ।
राज्यले डिजिटल पेमेन्ट डिजिटल नेपाल तयार गर्ने, प्रोमोट गर्ने हो भने त आफैँ इक्जाम्पल सेट गर्नुपर्यो नि, भाषण दिएर मात्र त भएन। राजस्वको पैसा कमिसन तिर्न मिल्दैन भन्छ सरकार । सर्भिस चार्ज, मार्केटिङ कस्ट, अपरेसन कस्ट, केही त देऊ । हामीले राज्यको सबै राजस्व उठाइदिँदा हाम्रो चार्ज छ नि त, बंैकबाट खल्तीमा आउँदा पनि चार्ज छ, खल्तीबाट बैंकमा पठाउँदा पनि हामीलाई चार्ज लाग्छ । वालेटबाट हुने राज्यको भुक्तानीमा वालेटले घाटा बेहोरिरहेको छ, यसमा राज्यको कुनै पनि निकायको सुनुवाइ भएको छैन।
धेरै समय दिनुपर्ने, पैसा इन्भेस्ट गर्नुपर्ने, बौद्धिक सम्पत्तिको लागि पनि राम्रो म्यानपावर चाहिने अवस्थाले गर्दा सस्टेनेबिलिटीको इस्यु छ । इन्फास्टक्चर पनि आफैँ बनाऊ, मर्चेन्टको सिस्टम पनि आफैँ बनाऊ, युजर पनि आफैँ एक्वाइर गर, युपिआई डिजिटल लिटरेसीका कुरा पनि आफैँ सिकाउने गर्दा ठूलो मात्रामा खर्च छ । त्यो लेवलको भोलुमको ट्रान्जेक्सन छैन, कमिसन धेरै कम छ नेपालमा । टेक्नोलोजी डेभलप गरेर मात्र हुँदैन, त्यसको इन्ड टु इन्ड प्रोसेस हुन्छ । बैंकले फाइनान्सिङ मात्र गर्छ तर इन्ड टु इन्ड अपरेसन हेर्ने काम उसको हुँदैन । त्यसैले, हामी जस्तो फिनटेक चाहिन्छ । नेपालमा इकोस्टिम रेडी नभएकाले सबै ९० प्रतिशत मर्चेन्ट डिजिटाइज हुन गाह्रो छ ।
११. नेपालमा भुक्तानी सेवा प्रदायक धेरै भए, अब डिजिटल वालेटहरु मर्जरमा जानुपर्छ भन्ने कुरा उठिरहेको छ, यसप्रति यहाँको धारणा के छ?
डिजिटल वालेटहरु कुनै पनि मर्ज हुँदैन, मर्ज गरेर फाइदा छैन। किनकि, टेक्नोलोजी चाहिँ दुवैको प्रयोग हुँदैन, एउटैको हुने हो । बैंक जस्तो १० ब्रान्च १० ब्रान्च गरेर २० ब्रान्च हुँदैन, ब्रान्ड एउटैको रहने हो, युजर्स ओभरल्याप छन् ।
“बरु वालेटहरु बन्द हुन्छन् होला, मर्ज गरेर फाइदा नै छैन ।”
टेक्नोलोजी बनाउनका लागि मेजर लगानी भइसकेको हुन्छ अनि मर्ज गर्दा भ्याल्युएसनको कुरा मिल्दैन । बरु वालेटहरु बन्द हुन्छन् होला, मर्ज गरेर फाइदा नै छैन। वालेट सस्टेनेबिलिटी स्ट्रगलमा छ । दुईवटा वालेट जोडेर युजर पूरै डबल हुने भए त मर्ज गर्थे तर त्यो युजरलाई त्यहाँ ल्याउनका लागि त्यत्तिकै खर्च छ ।
१२. बैंकहरुले मोबाइल बैंकिङ एप प्रयोगमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने क्रम बढ्दो छ, यस्तो सुविधा वालेट प्रयोगकर्ताले कहिले पाउँछन ?
यसका लागि एनटिसी, एनसेलसँग कुरा गरिरहेका छौँ । के कति डेटा प्रयोग हुन्छ होला भन्ने इस्टिमेसनको चरणमा छौँ। ग्राहकको ठूलो माग भयो भने हामी जतिसुकै पैसा पनि इन्भेस्ट गर्न तयार छौँ, ग्राहकको मागअनुसार हामी भविष्यमा त्यो सुविधा पनि दिन सक्छौँ । अहिले पनि खल्तीका प्रयोगकर्ताहरुले शून्य ब्यालेन्स भएको समयमा पनि फ्रि एसएमएस मार्फत् मोबाइलमा रिचार्ज गर्न सक्दछन् । अर्को देशभर अहिले १५ हजारभन्दा बढी फ्री वाइफाई हटस्पट भएको ठाउँबाट खल्तीको एपमा रहेको १०० जिबी डाटा प्रत्येक ग्राहकले फ्रिमा पाइरहनुभएको छ, जुन एक महिनासम्म प्रयोग गर्न मिल्छ ।
१३. खल्तीमा अहिले प्रयोगकर्ता कति छन्?
खल्तीमा खाता खोल्नेहरु २३ लाख हुनुहुन्छ, महिनामा ३ अर्बको कारोबार भइरहेको छ । केवाइसी भेरिफाइड युजर मात्रै ७ लाख छन् । करिब चार लाख जति सक्रिय प्रयोगकर्ता हुनुहन्छ ।
१४. डिजिटल वालेटको भविष्यप्रति यहाँको वैयक्तिक अवधारणा कस्तो छ ?
भविष्यमा इन्डस्ट्री म्याचुअर्ड हुँदै जान्छ, त्यसपछि हामीले इनोभेट गर्नुपर्यो । युटिलिटी पेमेन्टबाहेकका पेमेन्टहरुमा इनोभेट गरेर ग्राहकलाई आवश्यकता अनुसारको कुरा ल्याउनुपर्यो, ग्राहकको आवश्यकता पूरा गर्नुपर्यो, राम्रो सर्भिस सपोर्ट दिनुपर्यो। भविष्यमा यातायात, शिक्षा, स्वास्थ्य, इन्सुरेन्स, क्यापिटल मार्केट, मनोरन्जनको बजार सबै इन्डस्ट्रीहरुमा चाहिँ सजिलै घर बसीबसी विश्वाससहितको भुक्तानी गर्ने सिस्टम हुनुपर्यो । त्यसपछि चाहिँ त्यो एउटा लाइफ स्टाइल बन्छ, हामी लाइफ स्टाइल प्रडक्ट बन्छौँ। अझै ३० प्रतिशत जति बैंकहरु इन्ट्रिगेसन गर्न बाँकी छ, कतिपयमा गर्न गाह्रो पनि छ । हामी केही इनोभेटिभ कुराहरुमा पनि काम गर्दै छौँ। अर्को हाम्रो इनोभेटिभ प्रडक्ट चाहिँ दामी क्युआर भनेर आउँदै छ । त्यो पेमेन्टका लागि नभई अरु कुराका लागि क्युआर हो, क्युआर हेरेपछि स्क्यान गर्ने बानी बसाल्नका लागि हो । दामी क्युआर हामी अर्को महिनाबाट बुद्ध एयरको सबै बोर्डिङ पासमा पनि राखेर सुरुवात गर्न लागि राखेका छौँ ।
- वित्तीय साक्षरता आर्थिक मासिक पत्रिका (पहिलो अंक)