September 9, 2024

नबिल एसएसई फेलोसिप कार्यक्रमले बजारमा उद्यमशीलतासँगै उद्यमी तयार पार्छ

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक क्रियाकलाप, विज्ञान तथा प्रविधि, स्वास्थ्य, साहित्य तथा कला आदि क्षेत्रमा विभिन्न सामाजिक कल्याणका कार्य निरन्तर रुपमा गर्दै आइरहेको छ । सरकारले अघि सारेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकको दिगो बैंकिङ कार्यक्रमअन्तर्गत बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायीकरण र उद्यमशीलता विकास एवम् आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्दै नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको छ ।

पछिल्लो समय नबिल बैंकले सामाजिक उद्यमशीलताको विकास गर्ने ध्येयका साथ यसै वर्षदेखि गैरनाफामूलक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरपे्रनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसै सन्दर्भमा नबिल बैंकको यो नवीनतम भनिएको नबिल एसएसई फेलोसिप कार्यक्रमले लिएको लक्ष्य, औचित्य र यसले समाजमा पार्ने दूरगामी प्रभावमा आधारित रहेर वित्तीय साक्षरता आर्थिक मासिकले नबिल बैंकका सिइओ ज्ञानेन्द्र प्रसाद ढुङ्गानासँग गरेको कुराकानीको सारसङ्क्षेप :

नबिल एसएसई फेलोसिप कार्यक्रम के हो ? यसले कस्ता गतिविधिहरुमा जोड दिन्छ ?

नबिल फेलोसिप कार्यक्रम मुख्य गरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषय तथा क्षेत्रहरुमा देशभर सामाजिक उद्यमशीलता प्रवद्र्धनलाई जोड दिने कार्यक्रम हो ।

नबिल बैंक लिमिटेडले नेपालमा उद्यमशीलताको विकास गर्ने उद्देश्यअनुरुप आफ्नो सामाजिक उत्तरदायित्वलाई प्रभावकारी बनाउने क्रममा “नबिल एसएसई फेलोसिप कार्यक्रम” सञ्चालनमा ल्याएको हो । नबिल एसएसई फेलोसिप कार्यक्रम बैंकको सामाजिक उद्ययमशीतामूलक एक नवीन उत्पादन हो । जसले हाम्रा विद्यमान सामाजिक समस्याहरूको समाधानका लागि सामाजिक उद्यमीहरूको उद्यमशीलता विकासमा टेवा पुर्‍याई उत्पादन, विकास, जीवनको गुणस्तर सुधार तथा सामाजिक कल्याण, आर्थिक समृद्धि, वित्तीय साक्षरता, दिगो सामाजिक प्रभाव सिर्जना गर्ने लगायतका काममा सघाउ पुर्‍याउँदछ।

यस फेलोसिप कार्यक्रममा आवेदन दिनका लागि के कस्ता मापदण्डहरु निर्धारण गरिएका छन् ?

यसका लागि सर्वप्रथम आवेदकमा उद्यम गर्छु भन्ने मानसिकता विकास हुनु पर्दछ । दोस्रो, आफूले गर्ने उद्यममार्फत् समाजमा सकारात्मक दिगो प्रभाव पार्ने नवीनतम सोच हुनु जरुरी छ। १८ देखि ५० वर्ष सम्मका नेपाली नागरिक जो शिक्षा, स्वास्थ्य सेवा, वातावरण, कृषि, खाद्य, जीविकोपार्जन, जलवायु परिवर्तन, ऊर्जा, आदिमा सामाजिक समस्याहरू समाधान गर्न व्यावहारिक व्यापार विचार भएको हुनु पर्दछ । साथै आवेदकहरू त्रिभुवन विश्वविद्यालयको विद्यार्थी वा पूर्व विद्यार्थी भएको हुनुपर्छ।

“सर्वप्रथम आवेदकमा उद्यम गर्छु भन्ने मानसिकता विकास हुनु पर्दछ ।

दोस्रो, आफूले गर्ने उद्यममार्फत् समाजमा सकारात्मक दिगो प्रभाव पार्ने

नवीनतम सोच हुनु जरुरी छ ।”

त्यस्तै आवेदकमा अङ्ग्रेजी र नेपाली भाषाको मौलिक ज्ञान हुनु आवश्यक हुन्छ । चुनिएका फेलोजहरुले ६ महिनाको यस पाठ्यक्रममा १८ दिनको आवासिय तालिममा सहभागि हुन पाउनेछन् । यसको साथसाथै १ वर्षका लागि मेन्टरहरुको व्यवस्था बैंकले नै गर्ने गर्दछ, जो सँग आफ्ना व्यवसायका सम्पूर्ण कुराहरुमा मार्गदशन लिन सकिनेछ । त्यस्तै गरि सर्टिफिकेट कोर्सको लागि भने आवेदकहरू ३ महिनाको पाठ्यक्रममा १४ दिनको तालिममा सहभागि हुन पाउनेछन् ।

फेलोसिप कार्यक्रम कहाँ सञ्चालन हुन्छ र यसका लागि कति शुल्क तिर्नुपर्छ ?

हाल फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालय (SOM-TU) को स्कुल अफ म्यानेजमेन्टमा स्थापित नबिल सामाजिक उद्यमशीलता सेन्टरमा सञ्चालन भइरहेको छ । फेलोसिप कार्यक्रमका लागि कुनै आवेदन शुल्क तिर्नु पर्दैन यद्यपि सहभागीहरूले यात्रा गर्दाको खर्च भने आफैँले व्यवस्थापन गर्नुपर्दछ । कार्यक्रममा खानेबस्ने व्यवस्था भने नबिल एसएसई आफैले गर्दछ ।

नबिल एसएसई फेलोसिप कार्यक्रमका के कस्ता उद्देश्य रहेका छन् ?

नबिल फेलोसिप कार्यक्रमले सामाजिक उद्यमहरूमार्फत् आफ्ना रचनात्मक विचारहरू र समाधानहरू प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्ने गर्दछ । नेपालका सातै प्रदेशहरुमा सामाजिक उद्यमीहरूको प्रवद्र्धन र विकासमा सघाउ पुर्‍याउनु नै यस कार्र्यक्रमको मूल उद्देश्य हो । यसले वित्तीमा पहुँचको सुविधा प्रदान गरी सामाजिक उद्यमशीलताको नेतृत्व क्षमता निर्माण कार्यमा सचेतना अभिवृद्धि गर्ने कार्य गर्दछ ।

उक्त कार्यक्रममार्फत् सकारात्मक परिवर्तन ल्याउने, सामाजिक प्रभाव सिर्जना गर्ने कुनै नवीनतम परियोजना एवम् विचारहरुलाई उद्यममा रुपान्तरण गरी विकसित तुल्याउने र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नुका साथै बढ्दै गएका उद्यमशील विद्यार्थीहरूलाई सहयोग गर्ने यस कार्यक्रमको उद्देश्य रहेको छ ।

यसका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजहरुसँग साझेदारी गरिएको छ । यस साझेदारीबाट एक वर्षमा ७ सय तालिम प्राप्त सामाजिक उद्यमी तयार गर्ने यस कार्यक्रमको उद्देश्य रहेको छ।

नबिल फेलोसिप कार्यक्रम सञ्चालन कार्यविधि कस्तो रहन्छ ?

यो त्रिभुवन विश्वविद्यालय (TU) व्यवस्थापन सङ्कायको सहकार्यमा सञ्चालित राष्ट्रिय कार्यक्रम हो । यो स्कूल अफ म्यानेजमेन्ट TU (SOM–TU) को प्राङ्गणमा प्रदान गरिन्छ। कार्यक्रमले २० विद्यार्थीहरुलार्ई ६ महिनाको सिकाइ कार्यक्रम प्रदान गर्दछ । एक बलियो पद्धति पछ्याएर पहिलो अनुभव प्राप्त गर्ने र बाटोमा “लर्निङ बाई डोइङ’ दृष्टिकोणको प्रयोगमा यो आधारित रहन्छ।

“छनोटमा परेकाहरुलाई सामाजिक उद्यमशीलता

सम्बन्धी विभिन्न विषयवस्तुहरुमा प्रयोगात्मक र

व्यावहारिक ढङ्गले प्रशिक्षणमा सहभागी गराइनेछ ।”

सहभागीहरुलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको यस कार्यक्रम एक वर्षसम्म बैंकको आवश्यक सहयोगसहित ४० सहभागीलाई ६ महिने सिकाइमा आधारित प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोसिप तालिम र बाँकी ६ महिनाका लागि सबै सहभागीलाई मेन्टरसिप सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यावहारिक कठिनाइको समाधानका लागि सहयोग गर्नेछ । प्रत्येक महिनामा ३ दिन सञ्चालन हुने उक्त कार्यक्रमको प्रतिवर्ष २ ब्याच सञ्चालन गर्ने लक्ष्य रहेको छ । प्रत्येक ब्याचमा कुल १८ दिनको लागि आवासीय कार्यक्रम संचालन हुनेछ । संलग्न सहभागीहरु प्रत्येकलाई एक एक जना सल्लाहकार दिइनेछ जुन १ वर्षको लागि उनीहरूको उद्यमशीलता यात्राको लागि सहयोगी (मेन्टर) हुनेछन्।

समाजमा यस कार्यक्रमको कस्तो प्रभावकारिता रहनेछ?

६ देखि १२ महिनाको अन्त्यमा फेलोसँग बजारमा व्यापार गर्न उत्पादन/सेवाको साथ लगानीको लागि उद्यम वा व्यवसाय तयार हुनेछ। उनीहरूले कार्यक्रमको अन्त्यमा प्रभावकारी लगानीकर्ताहरूको प्यानलको सामना गर्नेछन् र लगानीको लागि आफ्ना विचारहरू प्रस्तुत गर्नेछन्।

यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्ने बैंकले विश्वास लिएको छ। आवेदकहरुले पेश गरेको सामाजिक उद्यमको सोच, अवधारणाको मूल्याङ्कन गरी प्रमाणपत्र कार्यक्रमका सहभागीहरुको छनोट गरिनेछ। छनोटमा परेका सहभागीहरुलाई सामाजिक उद्यमशीलता सम्बन्धी विभिन्न विषयवस्तुहरुमा प्रयोगात्मक र व्यावहारिक ढङ्गले प्रशिक्षणमा सहभागी गराइनेछ । तीन महिनाको प्रशिक्षणपछि सहभागीहरु उद्यमशील सोच र लगानीयोग्य व्यावसायिक योजना तयार गर्न सक्ने हुनेछन् । समाजमा उद्यम बढ्नु भनेको रोजगारी सृजना हुनु हो, रोजगारीले देशको आर्थिक समृद्धि र अर्थतन्त्रमा असर पार्छ । यस हिसाबले पनि यो

कार्यक्रमले समाजमा बिस्तारै दिगो परिवर्तन ल्याउने र देशलाई हाम्रो आर्थिक समृद्धि तर्फ लैजाने हाम्रो विश्वास छ ।

कार्यक्रममा सहभागीहरुले के कस्ता व्यवसायमा बढी रुचि राखेका छन् ? के यसले आर्थिक समृद्धिको ढोका खोल्न प्रेरित गर्दछ?

फेलोसिप कार्यक्रमका सहभागीको कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यान्न, कपडा उत्पादन, कफी सप सञ्चालन लगायतका क्षेत्रमा बढी रुचि देखिन्छ । निश्चय पनि बजारमा यस क्षेत्र प्रतिको मानिसहरुको लगाव पनि बढ्दो छ । व्यवसाय गर्दाका समस्या, चुनौती, बजार व्यवस्थापन, बजार मुल्याङ्कन तथा अरु सम्भाव्य कुराहरुलाई ध्यानमा राखेर गरिएको व्यवसाय पक्कै पनि दिगो हुन्छ र पक्कै पनि यसले आर्थिक समृद्धिको ढोका खोल्न प्रेरित गर्दछ ।

  • वित्तीय साक्षरता आर्थिक मासिक पत्रिका (पहिलो अंक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *