April 30, 2026

म्युचुअल फन्ड के हो?

म्युचुअल फन्ड कुनै कम्पनीको धितोपत्र वा शेयरजस्तै एक किसिमको सुरक्षण हो । पोर्टफोलियो मेनेजरद्धारा व्यवस्थापन र संचालन गरिने धेरै साना साना लगानीकर्ताहरुबाट संकलित कोष नै म्युचुअल फण्ड हो । यो धेरै लगानीकर्ताहरूले गरेको लगानीको कुल रकम हो । म्युचुअल फन्ड लाई धितोपत्रजस्तै पूँजी निर्माणको आधार मानिन्छ । म्युचुअल फन्ड खरिद गर्दा एकाइमा खरिद गर्नु पर्दछ । नेपालमा म्युचुअल फन्ड खरिद गर्दा प्रति एकाइको लागि मूल्य रु. १०।– कायम गरिएको छ। नेपालमा म्युचुअल फण्डलाई नेपाल धितोपत्र बोर्डले नियमन र निरीक्षण गर्ने गर्दछ ।

म्युचुअल फन्डमा लगानी गर्नाले लगानीकर्ताले आफ्नो बचतलाई बैंक तथा वित्तीय संस्थामा राख्दा प्राप्त गर्ने ब्याजभन्दा धेरै रकमको प्रतिफल प्राप्त गर्दछन् । म्युचुअल फन्डमा जम्मा भएको रकमलाई फन्ड व्यवस्थापकले विभिन्न क्षेत्र जस्तो सेयर बण्ड, ऋणपत्र, सरकारी धितोपत्र, र फिक्स डिपोजिट आदीमा लगानी गरेको हुन्छ । यसरी गरेको लगानीबाट आएको प्रतिफल वा लाभ ईकाई धारीहरुलाई वहन ईकाईको आधारमा समानुपातिक तवरले वितरण गरिन्छ ।

पोर्टफोलियो मेनेजरले विभिन्न शिर्षकमा लगनाी गर्ने हुँदा कहिलेकाहीँ कुनै एक क्षेत्रमा समस्या भइहाले पनि अन्य क्षेत्रबाट प्राप्त हुने प्रतिफलले लगानीकर्ताले व्यहोर्नुपर्ने जोखिमलाई न्यूनिकरण गर्दछ । सामूहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञहरुद्वारा सञ्चालन हुने र निकै सुरक्षित हुनाले पनि पछिल्लो केही वर्ष यता नेपालमा पनि यस्ता योजनाहरूको संख्या बढिरहेको पाइन्छ । नेपालमा म्युचुअल फण्ड जारी गर्ने, निरीक्षण गर्ने र व्यवस्थापन गर्ने सम्पूर्ण कार्य म्युचुअल फण्ड नियमावली २०६७ ले निर्धारण गरे अनुसार र धितोपत्र बोर्डले तोके बमोजिम हुने गर्दछ । जस अनुसार सामूहिक लगानी कोष योजनालाई छुट्टा छुट्टै विशेषताहरू सहित बन्दमुखी योजना र खुलामुखी योजना गरी दुई किसिमको अवधारणामा व्याख्या गरेको पाहिन्छ । नेपालमा म्युचुअल फण्ड, म्युचुअल फण्ड नियमावली २०६७ र म्युचल फण्ड निर्देशिका २०६९ बाट नियन्त्रित छन् ।

म्युचुअल फन्डमा किन गर्ने लगानी ?

म्युचुअल फण्डमा लगानी गर्नका लागि ठूलो पुँजीको आवश्यकता पर्दैन । न्युनतम एक हजार रुपैयाँमा नै लगानीको सुरुवात गर्न सकिने भएकाले ससाना लगानीकर्ताले पनि यसबाट लाभ लिन सक्छन् । कोष प्रबन्धकहरूले म्युचल फण्डको तर्फबाट कार्यसम्पादन तथा व्यवस्थापन गर्ने भएकाले वार्षिक रुपमा प्रतिफलबाट नै व्यवस्थापन शुल्क लिने गर्छन् । प्रोफेसनल व्यवस्थापकद्धारा व्यवस्थापन गरिने, पारदर्शी हुने, न्युन कारोबार शूल्क र सानै स्रोतबाट लगानी गर्न सकिने हुँदा नयाँ लगानीकर्ता, सेयर बजारको घटबढका बारेमा जानकारी नभएका साना लगानीकर्ताहरुका लागि म्युचुअल फण्ड लाभदायक मानिन्छ । यस्ता म्युचुअल फण्डहरु लगानीको विविधिकरण र कर सुविधाका साथमा सहजै र छिटो किनबेच गर्न सकिने भएकाले पनि लगानीको सुरक्षित क्षेत्र मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *