March 17, 2025

वस्तु विनिमयबाट सुरु भएको भुक्तानी प्रणाली क्रिप्टो हुँदै केन्द्रीय बैंक डिजिटल करेन्सीसम्म

आजको विश्वमा असीमित मानवीय आवश्यकतासँगै भुक्तानीमा निकै नवीनतम प्रविधिको प्रयोग बढ्दो मात्रामा छ । मानव इतिहासको प्रारम्भिक विन्दुतर्फ दृष्टिगत गर्दा त्यतिखेर वस्तु विनिमय प्रणालीमा आफूसँग भएको वस्तु दिएर आफूलाई आवश्यक पर्ने वस्तु साटासाट गरी आफ्ना आवश्यकता पूरा गर्ने कार्य हुन्थ्यो । त्यस समयमा पैसाको चलनचल्ती नै थिएन । वस्तु साटासाट हुनका लागि दुवै पक्ष एक अर्कासँग भएको वस्तु साटासाट गर्न इच्छुक हुनुपर्ने बाध्यता थियो । आफूले उत्पादन गरेको वस्तुसँग आफूलाई आवश्यक पर्ने सामान भएको मान्छे भेटिए र उसलाई पनि आफूले उत्पादन गरेको सामान नै चाहिएको अवस्थामा मात्र वस्तु विनिमय सम्भव थियो । अन्यथा वस्तु–विनिमय गर्दा अनेकौँ कठिनाइहरु झेल्नुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना हुन पुग्थ्यो ।

वस्तु विनिमयदेखि सिक्कासम्म

भुक्तानीको प्रारम्भिक रुपमा सामान खरिदबिक्री गर्दा सिक्काको प्रयोग गरिने गरिन्थ्यो । विनिमयको पहिलो अभ्यासका रुपमा सिक्कालाई लिइन्छ । मानिसहरुले बिस्तारै बहुमूल्य धातुहरू सुन, चाँदी, तामा, पित्तलजस्ता सिक्काको आविष्कार गर्दै विनिमयका सुविधाजनक माध्यम बनाउन थाले । त्यस कालखण्डमा व्यापारिक साधनको रुपमा मानिसहरुमाझ सिक्का निकै लोकप्रिय थियो । त्यसपछि क्रमिक रुपमा मुद्राको महत्त्व बढ्न त थाल्यो तर सिक्का धेरै गह्रुङ्गो हुने हँदा त्यसको ओसारपसार गर्नमा कठिनाइ हुन थाल्यो ।

वस्तु विनिमयबाट रुपान्तरण भएको कारोबार बिस्तारै मुद्रा युगको सुरुवातसम्म आइपुग्यो । मुद्राको कारोबारले मानव सभ्यताको विकासमा मानिसले कल्पना गरेभन्दा बढी योगदान पु¥यायो । मुद्राले वस्तु–विनिमयमा भएका समस्या, कठिनाइ र असहजतालाई समाप्त पारिदियो । मुद्राको प्रयोगले गर्दा मानिसका सम्पत्तिलाई पनि मुद्रामा परिणत गरी पूँजी निर्माण गरी आफूले चाहेको ठाउँमा मुद्राको आदानप्रदान गर्न ज्यादै सजिलो बनायो ।

सिक्कादेखि बैंक नोटसम्म

कागजी नोटको प्रारम्भसँगै धातुका मुद्राहरु प्रतिस्थापन गर्दै लगियो । जसले गर्दा पैसाको ओसारपसारमा सहजता थपियो । नोट निष्कासनले ठूला मूल्यहरु सजिलै सार्न सक्ने क्षमता प्रदान ग¥यो ।

नोटले वित्तीय प्रणालीमा नै आमूल परिवर्तन ल्यायो । सुरुवाती दिनहरुमा कम्पनीहरुले जारी गर्ने नोटहरु पछि गएर आधिकारिक रुपमा देशको केन्द्रीय बैंकले नोट जारी गर्न थाले । नेपाल पनि नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि राजा त्रिभुवन शाहको पालामा खजान्ची पण्डित जनकराज पाण्डेको हस्ताक्षरमा २००२ असोज १ गते पहिलो पटक कागजी नोट निष्कासन गरिएको थियो। त्यसपछि २ जना खजान्ची पण्डित भरतराज र नरेन्द्रराज थिए। त्यतिबेला सदर मुलुकीखानाले नोट छपाइको काम गर्ने गर्दथ्यो । २०१६ साल फागुन ७ गते पहिलो गभर्नर हिमालय शमशेर जबराको हस्ताक्षरबाट नोट छपाइ गरिएको थियो। यस बैंकमार्फत् नेपाली मुद्रा चलनचल्तीमा ल्याउने तथा नेपालमा बैंकिङ प्रथाको विकास गर्ने महत्त्वपूर्ण प्रयास हुँदै आएको पाहिन्छ । हाल नेपालमा नेपाली नोट नै आधिकारिक विनिमयको माध्यम बन्दै आएको छ ।

बैंक नोटदेखि बैंक चेकसम्म

बिस्तारै २० औँ शताब्दी यता भुक्तान गर्नको लागि अत्यधिक लोकप्रिय गैर–नगद विधि चेकहरूको प्रयोग धेरै गर्न थालियो । एउटा खाताबाट अर्को खातामा रकमान्तर गर्न र कारोबारको समयमा हुने जालसाजी, चोरी डकैतीको विकल्पको रुपमा चेक पेपर प्रचलनमा आएको पाइन्छ । आधुनिक बैंकिङ प्रणालीको विकाससँगै इलेक्ट्रोनिक माध्यमको प्रयोगका कारणले चेकको प्रयोगमा केही कमी आएको छ ।

बैंक चेकदेखि बैंक कार्डसम्म

सन् १९५० को दशकको अन्तमा भुक्तानीको लागि भौतिक पैसा विस्थापित गर्ने विकल्पको रुपमा कार्डलाई प्रचलनमा ल्याइयो । ७० को दशकको अन्त्य तीर भुक्तानीका लागि अब पेपर चेकबाट प्लास्टिक कार्ड, डेबिट, क्रेडिट कार्डहरू प्रयोग गर्न थालिए । नेपालमा भने डिजिटल भुक्तानी अवधारणा नबिलले सन् १९९० मा क्रेडिट कार्डको माध्यमबाट पहिलो पटक थालनी गरेको थियो । त्यसपछि सन् १९९५ मा हिमालय बैंकले एटिमएको सुरुवात गरेको थियो । आधुनिक बैंकिङ पद्धतिको विकाससँगै प्लास्टिक मूद्रा डेबिट कार्ड, क्रेडिट कार्डको प्रयोग गरिँदै आएको पाइन्छ ।

अन्तर्राष्ट्रिय व्यापारको विविधतासँगै मुद्रा प्रचलनको सहजताका लागि विभिन्न अन्तर्राष्ट्रिय मुद्राहरुमध्ये अमेरिकी डलरलाई आधार मुद्राको रुपमा लिई अन्तर्राष्ट्रिय व्यापार गरिँदै आएको पाइन्छ । जसका माध्यमबाट स्वदेश तथा विदेशमा समेत मानिसहरुले भरपर्दो र छिटोछरितो माध्यमबाट पैसाको कारोबार गरिरहेका छन् ।

कार्डदेखि क्रिप्टोसम्म

आजको आधुनिक विश्वमा क्रिप्टोलाई एक महत्त्वपूर्ण वैकल्पिक भुक्तानी विधिको रुपमा लिइन्छ । खरिद बिक्रीको लागि भुक्तान गर्न क्रेडिट कार्ड प्रयोग गर्दा व्यवसाय र उपभोक्ताहरूको व्यवसायीक तथ्याङ्कको गोपनियता भङ्ग हुन सक्ने सम्भावना रहन्छ । क्रिप्टोले चाँडै लेनदेन सञ्चालन गर्न स्वीकृत गर्ने र प्रयोगकर्ताको विवरण पूर्ण गोपनिय हुने हुँदा यसलाई राम्रो, वैकल्पिक भुक्तानी विधिको रुपमा लिइँदै आएको पाइन्छ । बैंक बिना नै आफ्नो सम्पत्तिको अस्तित्व कायम गर्न वा कुनै पनि वस्तु वा सामानको खरिदबिक्रीको भुक्तानी बैंकिङ च्यानलको सहायता बिना नै प्रयोग गर्ने अभिप्रायले आजको विश्वमा क्रिप्टो करेन्सीको प्रयोग गरिँदै आएको पाइन्छ । यसलाई भौतिक रूपमा छुन र देख्न सकिँदैन । अनलाइनमा सीमित रहने यो मुद्राको मूल्य भने तोकिएको हुन्छ । यो भर्चुअल मुद्राको नियमन गर्ने कुनै पनि निकाय हुँदैन ।

क्रिप्टो करेन्सीको कारोबार गर्दा सर्वसारण ठगिने, अवैधानिक रूपमा रकम बाहिरिने

र स्वदेशी पुँजी पलायन हुने भएकाले क्रिप्टो करेन्सीसम्बन्धी क्रियाकलापलाई

नेपालको कानुनले पूर्ण रुपमा बर्जित गरेको छ ।

संसारभरिका कम्प्युटरहरूमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालनमा हुन्छ । क्रिप्टो करेन्सीको प्रयोग गरेर कम्प्युटर तथा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राखी सामान किन्न वा अनलाइनको माध्यमबाट भुक्तानी गर्न सकिन्छ । सन् २००९ देखि चर्चामा आएको बिट कोइन पहिलो क्रिप्टो करेन्सी हो । बिट कोइनको संस्थापकको उपाधि सातोशी नाकामोतोलाई दिइएको पाइन्छ तर उनी को हुन् भन्ने आजसम्म कसैलाई थाहा छैन । अहिलेसम्म हजारौँको सङ्ख्यामा क्रिप्टो करेन्सीहरू प्रयोगमा आएको पाइन्छ ।

क्रिप्टो करेन्सीको कारोबार गर्दा सर्वसारण ठगिने, अवैधानिक रूपमा रकम बाहिरिने र स्वदेशी पुँजी पलायन हुने भएकाले क्रिप्टो करेन्सीसम्बन्धी क्रियाकलापलाई नेपालको कानुनले पूर्ण रुपमा बर्जित गरेको छ । अहिले चीन, इजिप्ट, इराक, कतार, ओमान, बंलादेशलगायत देशहरूमा क्रिप्टो करेन्सी पूर्ण रुपमा प्रतिबन्धित छ ।

क्रिप्टोदेखि केन्द्रीय बैंक डिजिटल मुद्रासम्म

आजको गतिशील आधुनिक प्रविधिको युगमा बैंक नोट, प्लास्टिक कार्ड र क्रिप्टोको विकल्पको भुक्तानीको लागि केन्द्रीय बैंक डिजिटल मुद्रा ९ऋद्यम्ऋ० प्रचलनमा आएको छ । धेरै देशहरूले सिबिडिसीहरू विकास गरिरहेका छन् र कतिपयले तिनीहरूलाई लागू गरेका छन् । यो सरकारद्वारा समर्थित र केन्द्रीय बैंकद्वारा नियन्त्रित, डिजिटल मुद्रा विनिमयको एक स्थिर माध्यम हो । सिबिडिसी टोकनमा आधारित र खातामा आधारित हुन्छ । टोकनमा आधारित चाहिँ बैंक नोट जस्तै हो जसले लेनदेन गर्दा तपाईँको जानकारी आवश्यकता पर्दैन । अर्को भने खातामा आधारित हुन्छ जसमा डिजिटल वालेट वा प्लास्टिक कार्ड प्रयोग गरेर नेटवर्कभित्र लेनदेन गर्ने प्रणाली रहेको हन्छ । सीमापार लेनदेन लागत घटाउन र हाल वैकल्पिक पैसा स्थानान्तरण विधिहरू प्रयोग गर्नेहरूलाई कम लागतमा विकल्पहरू प्रदान गर्न यसले मद्दत गर्दछ । यसको मुख्य लक्ष्य व्यवसाय र उपभोक्ताहरूलाई गोपनियता, स्थानान्तरण योग्यता, सुविधा, पहुँच र वित्तीय सुरक्षा प्रदान गर्नु हो ।

केन्द्रीय बैंक डिजिटल मुद्राले हालको डिजिटल मुद्राहरू प्रयोग गर्ने जोखिम पनि कम गर्नेछ । क्रिप्टो करन्सीहरू अत्यधिक अस्थिर हुन्छन्, तिनीहरूको मूल्यमा निरन्तर उतार–चढाव हुने गर्दछ । यो अस्थिरताले धेरै घरपरिवारमा गम्भीर आर्थिक तनाव निम्त्याउन सक्छ र अर्थतन्त्रको समग्र स्थिरतालाई प्रभाव पार्दछ । यो मुद्रा देशले मूल्य कायम गर्ने मुद्राको डिजिटल रूप हो । यसले वित्तीय समावेशीकरणलाई बढावा दिन्छ र मौद्रिक तथा वित्तीय नीतिको कार्यान्वयनलाई सरल बनाउँछ ।

यो थोक र खुद्रा गरी दुई प्रकारको हुन्छ । थोक मुख्यतया वित्तीय संस्थाहरुद्वारा प्रयोग गरिन्छ । थोक सिबिडिसीहरू केन्द्रीय बैंकमा रिजर्भ होल्ड गरिन्छ । केन्द्रीय बैंकले संस्थालाई रकम जम्मा गर्न वा अन्तर बैंक स्थानान्तरण गर्न प्रयोग गर्न खाता प्रदान गर्दछ । केन्द्रीय बैंकहरूले त्यसपछि मौद्रिक नीति उपकरणहरू प्रयोग गर्न सक्छन् जस्तै रिजर्भ आवश्यकताहरू वा रिजर्भ ब्यालेन्समा ब्याज ऋणलाई प्रभाव पार्न र ब्याजदरहरू निर्धारण गर्न यसको भूमिका हुन्छ ।

खुद्रा सिबिडिसी उपभोक्ताहरू र व्यवसायीहरूद्वारा प्रयोग गरिन्छ । खुद्रा सिबिडिसीहरूले मध्यस्थ जोखिम हटाउँछन् । निजी डिजिटल मुद्रा जारीकर्ताहरू टाँट पल्टिन सक्ने र ग्राहकहरूको सम्पत्ति गुमाउन सक्ने जोखिम कम गर्न यसले मद्दत गर्दछ । विभिन्न देशहरू आज सिबिडिसीको अनुसन्धान, प्रयोग र विकासको अन्तिम रोल–आउटहरूको लागि परीक्षण गर्दै छन् । विशेष गरी स्वीडेन, उरुग्वे र चीन परीक्षणमा छन्, चीनले चाँडै नै पिपुल्स बैंक अफ चाइनाद्वारा समर्थित आफ्नो Digital Yuan (e–CNY) सुरु गर्ने सम्भावना छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०७९/८० मार्फत केन्द्रीय बैंक विद्युतीय मुद्रा -Central Bank Digital Currency) को सम्भाव्यता अध्ययन गरी कार्यान्वयनमा ल्याइने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *