आर्थिक समृद्धिका लागि “वित्तीय साक्षरता” आर्थिक मासिक
वित्तीय साक्षरतालाई आर्थिक समृद्धिको आधारस्तम्भ मानिन्छ। वित्तीय साक्षरताले बचत परिचालन तथा उद्यमशीलताको विकास गरी औद्योगिक क्रान्तिमा आधुनिकीकरणको मार्गचित्र कोर्न सघाउ पुग्ने गर्दछ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिब ६७ प्रतिशत नागरिकमा मात्र वित्तीय पहुँच पुगेको र बाँकी ३३ प्रतिशत नागरिक अझै वित्तीय पहुँचभन्दा बाहिर रहेको अवस्था छ। वित्तीय पहुँचमा रहेका नागरिकमा समेत वित्तीय चेतनाको अभावले कारोबार गर्न हिच्किचाउने गरेको अवस्था छ । बैंकमा खाता भएकामध्ये धेरैले डिजिटल बैंकिङ सुविधासमेत लिएका छन्, तर कसरी काम गर्ने भन्ने विषयमा अनभिज्ञता रहिआएको अवस्था छ । अझ कतिपय अवस्थामा त वित्तीय चेतना नहुँदा ऋण तिर्न पनि ऋण नै लिनुपर्ने बाध्यता रहेको पाइन्छ।
यसकारण राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरुले अब बैंकिङ पहुँचमा आएकाहरुलाई बुझाउनु पर्ने र आउन बाँकीलाई ल्याउनुपर्ने गरी वित्तीय साक्षरताका कार्यक्रम व्यापक रुपमा अगाडि बढाउनु पर्ने देखिन्छ । त्यसका लागि बैंक वित्तीय संस्थाहरुले स्थानिय निकाय वा सरोकारवालासँग समन्वयकारी भूमिका खेली अभियानकै रुपमा वित्तीय साक्षरताका कार्यक्रमहरु अगाडि बढाउनुपर्ने आजको आवश्यकता रहेको छ।
यसर्थ वित्तीय साक्षरता कार्यक्रमलाई व्यवस्थित र द्रूततर बनाउन तथा व्यापक रूपमा यसको विस्तार गर्दै लैजान नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ लाई मुख्य आधार मान्दै वित्तीय साक्षरताका विविध आयाम समेटिने गरी ‘वित्तीय साक्षरता’ आर्थिक मासिकलाई आम पाठकसमक्ष प्रस्तुत गरिएको हो।
“वित्तीय ज्ञान तथा डिजिटल साक्षरता हासिल गर्न चाहने तमाम जिज्ञासु
पाठकहरुका लागि यस “वित्तीय साक्षरता” मासिक पत्रिकाले उल्लेख्य भूमिका निर्वाह गर्नेछ ।
यसले लक्षित वर्गमा वित्तीय ज्ञान, चेतना र सिपको अभिवृद्धि गर्दै जिम्मेवार
वित्तीय आचरणको विकासमा टेवा पुर्याउनेछ ।”
बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त सेवा–सुविधा अधिकतम जनताले उपयोग गरेमा स्वभावतः प्रभावकारी मागमा वृद्धि हुने एवम् छरिएको आयबाट बचत परिचालन गर्न सकिने र कर्जा तथा लगानीमा समेत वृद्धि भई आर्थिक क्रियाकलापको विस्तार हुन जाने देखिन्छ । यसो भएमा नगदरहित समाजको परिकल्पनालाई मूर्त रुप दिएर आफ्नो सुरक्षाको प्रत्याभूति गर्न सघाउ पुग्नेछ र यसले सम्भावित जोखिमहरुको पनि न्यूनीकरणमा सघाउ पुर्याउनेछ।
वित्तीय ज्ञान तथा डिजिटल साक्षरता हासिल गर्न चाहने तमाम जिज्ञासु पाठकका लागि यस मासिक पत्रिकाले उल्लेख्य भूमिका निर्वाह गर्नेछ। यसले लक्षित वर्गमा वित्तीय ज्ञान, चेतना र सिपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकासमा टेवा पुर्याउनेछ । साथै उद्यमशीलताको अभिवृद्धिका क्रममा बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराएका सेवाहरूको प्रभावकारी रूपमा उपयोग गरेर लाभ हासिल गर्ने एवम् आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने कार्यमा वित्तीय साक्षरता मासिकले सहयोगी भूमिका अवश्य निर्वाह गर्नेछ ।
आम जनता वित्तीय रूपले जति धेरै साक्षर हुन्छन् त्यति नै धेरै बैंकिङ सेवाबाट लाभान्वित हुन सक्नुका साथै वित्तीय अपराधको जालोले निम्त्याउन सक्ने जोखिमहरुबाट बच्न सक्दछन् । नागरिकहरूलाई वित्तीय साक्षरताको माध्यमबाट वित्तीय सेवामा समावेश गर्दै वित्तीय पहुँच बढाउने सन्दर्भमा एडभरटाइजिङ नेपाल प्रा.लि. ले विगत ५ वर्षदेखि फाइनान्सियल नोटिसेस मोबाइल एप र डिजिटल सूचना पोर्टलबाट वित्तीय साक्षरता सम्बन्धी सामग्री तयार गर्ने, डिजिटल सूचना र साक्षरतामूलक समाचार सम्प्रेषण गर्ने कार्यमा भूमिका खेल्दै आएको छ । त्यसैको परिचायकका रुपमा वित्तीय साक्षरता मासिकलाई प्रकाशनमा ल्याइएको हो ।
वित्तीय साक्षरता कार्य सञ्चालन गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरूलाई समेत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न नीतिगत रूपमै उत्प्रेरित गर्ने कार्यमा खबरदारी गर्नु पनि हाम्रो मूल अभीष्ट हो ।
यस प्रकाशनले समाजका फरकफरक वर्गका मानिसहरूलाई वित्तीय साक्षरताका विभिन्न आयामका बारेमा बुझ्न, वित्तीय क्षेत्रमा प्रचलित शब्दहरूका अर्थगत बोधलाई ग्रहण गर्न अवश्य सहयोग गर्नेछ । यसका साथै निर्धक्कसँग बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराएका वित्तीय उपकरणहरूको प्रयोग गरी लाभ हासिल गर्न, बैंक तथा वित्तीय क्षेत्रको दायरा फराकिलो बनाउन, बैंक तथा वित्तीय क्षेत्रलाई संस्थागत रूपमा सबल एवम् दिगो बनाउन, मुलुकमा समावेशी वित्तीय प्रणाली स्थापित गर्न, उद्यमशीलता विकास गर्न तथा वित्तीय क्षेत्रप्रति आम जनताको पहुँचमा वृद्धि गरी देशको आर्थिक विकास गर्ने कार्यमा सहयोग पुर्याउन यस मासिक पत्रिकाले ठोस भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।
- “वित्तीय साक्षरता आर्थिक मासिक (पहिलो अंक)