वित्तीय साक्षरता र यसको आवश्यकता किन ?


वित्तीय स्रोत साधनलाई आफ्नो विभिन्न आवश्यकता तथा चाहना पूरा गर्नका लागि प्रभावकारी रूपमा पैसाको व्यवस्थापन तथा निर्णयहरु गर्न सिकाउने ज्ञान तथा सिपलाई वित्तीय साक्षरता भनिन्छ। वित्तीय परनिर्भरताबाट वित्तीय स्व—निर्भरतासम्म पुर्याउने माध्यम नै वित्तीय साक्षरता हो।
पछिल्ला वर्षहरुमा विश्वको आर्थिक क्षेत्रमा वित्तीय समावेशीकरण र वित्तीय साक्षरताको विषयले ठूलो चर्चा एवम् महत्त्व पाउन थालेको छ । अष्ट्रेलिया, क्यानडा, जापान, संयुक्त राज्य अमेरिका र युनाइटेड किङ्गडमलगायत देशहरूमा राज्य–सञ्चालित व्यक्तिगत वित्त व्यवस्थापन गर्नमा वित्तीय साक्षरताका राज्य केन्द्रित कार्यक्रमहरु नै सञ्चालनमा आइसकेका छन् । आर्थिक सहयोग र विकास संगठन Organization for Economic Co-operation and Development (OECD) ले साझा वित्तीय साक्षरता सिद्धान्तहरूको विकासमार्फत् वित्तीय शिक्षा र साक्षरता स्तर सुधार गर्ने तरिकाहरू प्रदान गर्ने उद्देश्यले २००३ मा एक अन्तर–सरकारी परियोजना सुरु गर्यो। मार्च २००८ मा OECD ले वित्तीय शिक्षाको लागि अन्तर्राष्ट्रिय गेटवे सुरु गर्यो, जसले विश्वव्यापी वित्तीय शिक्षा कार्यक्रमहरू, सूचना र अनुसन्धानका लागि क्लियरिङ हाउसको रूपमा सेवा गर्ने लक्ष्य राखेको छ। बेलायतमा वैकल्पिक शब्द “वित्तीय क्षमता’ राज्य र यसका एजेन्सीहरूद्वारा प्रयोग गरिन्छ। बेलायतमा वित्तीय सेवा प्राधिकरण (Financial Services Authority – FSA) ले २००३ मा वित्तीय क्षमतामा राष्ट्रिय रणनीति सुरु ग¥यो। त्यस्तै २००३ मा अमेरिकी सरकारले आफ्नो वित्तीय साक्षरता र शिक्षा आयोग स्थापना गरिसकेको छ।
वित्तीय समावेशीकरणलाई बढावा दिई बढीभन्दा बढी जनतामा बैंकिङ तथा वित्तीय सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय जगत्मा पनि विभिन्न निकायहरु कार्यरत रहेको तथा यसतर्फको प्रयासमा आफ्नो सार्थक भूमिका निर्वाह गर्नको लागि नेपाल राष्ट्र बैंकले पनि प्रतिबद्धता जनाइसकेको छ ।
“नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन २०७८ जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी हुन निर्देशन जारी गरिसकेको छ ।”
त्यस्तै नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन २०७८ जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी हुन निर्देशन जारी गरिसकेको छ । यसै वर्षको मौद्रिक नीतिको कार्यदिशामा पनि भुक्तानी तथा वित्तीय कारोबारलाई डिजिटाइजेसन गर्दै वित्तीय साक्षरता, वित्तीय पहँुच र वित्तीय समावेशिता अभिवृद्धि गरी मौद्रिक नीतिको दायरा बढाईने कुरा उल्लेख गरेको छ ।
राष्ट्र बैंकको वित्तीय साक्षरता मार्गदर्शन निर्देशिकाकामार्फत् बैंक, वित्तीय संस्थाहरुलाई वित्तीय साक्षरताका लागि संस्थागत रुपमा नै पूर्वाधार निर्माण, लक्षित वर्ग केन्द्रीकृत कार्यक्रम, वित्तीय सचेतना, ज्ञान र सिपको विकास, आधुनिक वित्तीय प्रविधिको प्रयोगसम्बन्धी वित्तीय साक्षरता अभिवृद्धिका विभिन्न कार्यक्रम तर्जुमा, कार्यक्रमको स्तर र विषयवस्तुजस्ता योजनाबद्ध कार्यक्रम ल्याउन निर्देशित गरिसकेको अवस्था छ ।

नेपाल सरकारले पनि आगामी आर्थिक वर्ष २०७९/८० मा वित्तीय साक्षरताअन्तर्गत डिजिटल साक्षरता कार्यक्रम अघि बढाउने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट यस्तो घोषणा गरेकी हुन् । भण्डारीले प्रविधिको सुरक्षित प्रयोगका लागि साइबर सुरक्षा प्रणाली स्थापना गर्ने र डिजिटल साक्षरताका विभिन्न कार्यक्रम सञ्चालन गरिने सन्दर्भसमेत उल्लेख गरेकी छन् ।
वित्तीय साक्षरताका आन्तरिक पक्षहरु
जीवन जीविकाका लागि होस् या धन कमाउनका लागि होस्, पैसा नै चाहिने हुनाले यसको व्यवस्थापन सबैका लागि अत्यन्त जरूरी छ । वित्तीय साक्षरताले समुदायका सबै वर्गहरुलाई सुखी र सुरक्षित भविष्यका लागि सघाउँदछ ।
वित्तीय साक्षरताभित्र वित्तीय लक्ष्य निर्माण, बचत, ऋण, बजेट, बिमा, विप्रेषण आदि विषय समेटिएका हुन्छन्। यसले आवश्यक खर्च गरेर बाँकी रहेको बचत रकमलाई कसरी सुरक्षित राख्ने, कस्तो वित्तीय सेवाको सहयोग लिने र त्यस्ता बचत रकमको कसरी सदुपयोग गर्ने भन्नेबारे आवश्यक ज्ञान प्रदान गर्दछ । जसले गर्दा चर्को ब्याज र अन्य वित्तीय झन्झट व्यहोर्नु पर्दैन। वित्तीय साक्षरताले नयाँ–नयाँ प्रविधिअनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले दिने विद्युतीय बैंकिङ सेवासुविधा कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा पनि सेवाग्राहीलाई जानकारी गराउँछ।
वित्तीय साक्षरताले सही तरिकाले पैसाको व्यवस्थापन गर्ने ज्ञान र सिप प्रदान गर्न, तपाईँ हाम्रा आवश्यकताका आधारमा वित्तीय योजना बनाउन, बचत गर्ने बानी विकास गर्न, आकस्मिक रूपमा आइपर्न सक्ने वित्तीय चुनौती व्यवस्थापन गर्न र कुनै न कुनै व्यवसाय सञ्चालन गरी परिवारको आम्दानी बढाउन सिकाउने गर्दछ।

आफ्नो आम्दानी एवम् खर्चको बारेमा थाहा पाउन, भविष्यमा आफ्ना आवश्यकता तथा चाहना पूरा गर्न बेलैदेखि बचत गर्दै जाने र ऐच्छिक एवम् अनावश्यक खर्चहरु घटाउन यसले युवा तथा बालबालिकाहरुलाई पनि सहयोग गर्ने गर्दछ । यसका साथै वित्तीय शिक्षाले कुनै पनि व्यक्तिसँग भएको आर्थिक वा वित्तीय स्रोत–साधनको प्रभावकारी एवम् मितव्ययी उपयोग गर्ने ज्ञानसमेत प्रदान गर्दछ ।
हरेक व्यक्तिसँग भएको सीमित स्रोत र साधनको कुशल उपयोगबारे जानकारी दिँदै आयमूलक क्षेत्रमा लगानी गर्ने र त्यसबाट आर्थिक उन्नति गर्ने ज्ञान, सिप र कला प्रदान गर्नु वित्तीय साक्षरताको लक्ष्य रहेको हुन्छ । तपाईँ हामीलाई वित्तीय साक्षरताले पैसाको महत्त्व बुझ्न र सोहीअनुसार त्यसको उचित व्यवस्थापन गर्ने शिक्षा प्रदान गर्नमा मद्दत गर्ने गर्दछ ।
पैसाको सदुपयोगबाट आर्थिक तथा सामाजिक सुरक्षा हासिल गर्ने, सीमित साधनको अधिकतम उपयोग गरी असीमित आवश्यकताहरुलाई प्राथमिकताको आधारमा पूरा गर्न सिकाउँदछ । त्यस्तै व्यवस्थित बजेट बनाउने तरिका सिकाउने तथा सीमित साधनको सटिक परिचालन र उच्चतम सदुपयोग गर्ने कला, शिप र ज्ञान वित्तीय साक्षरताले प्रदान गर्ने गर्दछ ।
यसले अनावश्यक रूपमा ऋणमा डुब्ने, श्रम शोषणमा पर्ने तथा आफ्ना स्रोत र साधनको अनुत्पादक क्षेत्रमा प्रयोग हुने जस्ता जोखिम कम गर्न मद्दत गर्दछ ।
वित्तीय शिक्षाले कुनै पनि व्यक्तिसँग भएको आर्थिक वा वित्तीय स्रोत–साधनको प्रभावकारी एवम् मितव्ययी उपयोग गर्ने ज्ञानसमेत प्रदान गर्दछ ।
मानव जीवनका लागि अति आवश्यक पैसा वा धन सम्पत्ति कानुनबमोजिम मात्र आर्जन गर्ने, पैसा खर्च गर्दा मितव्ययी रुपमा बजेट बनाएर आयबमोजिम खर्च गर्ने, आफ्नो आयको केही अंश भविष्यका लागि बचत गर्ने तथा उद्यम व्यवसाय गर्नका लागि कर्जा लिने र विदेशको कमाइ अर्थात् विप्रेषणको समुचित र उत्पादनमूलक उपयोग गर्ने ज्ञान तथा सिप वित्तीय चेतनाले प्रदान गर्दछ ।
यसका साथै, उद्यम व्यवसायमा कहिलेकाहीँ आउन सक्ने जोखिम व्यहोर्नुका साथै न्यूनीकरण गर्नका लागि बिमा तथा सुरक्षण गर्ने, गैरकानूनी ढङ्गबाट आर्जन गरेको सम्पत्तिले विपत्ति ल्याउँछ भन्ने जस्ता विषयमा आवश्यक न्यूनतम ज्ञान प्रदान गर्ने गर्दछ । वित्तीय चेतनामार्फत् व्यक्ति आफ्नो स्रोत र साधनको उपयोगका विषयमा उचित निर्णय लिन सक्षम हुन्छ । यसबाट निजको र मुलुकको समेत आर्थिक उन्नतिमा टेवा पुग्दछ ।
वित्तीय साक्षरताको वर्तमान अवस्था
नेपालको सन्दर्भमा यहाँको जनसंख्याको ठूलो भाग अझै पनि औपचारिक वित्तीय सेवाबाट वञ्चित रहेको पाइन्छ । गरिबी तथा बेरोजगारीको यो भयावह स्थिति, वित्तीय सेवाको न्यून पहुँचको अवस्था सुधारका लागि प्रभावकारी वित्तीय चेतना वा साक्षरता अभियान अपरिहार्य रहेको छ ।
वित्तीय चेतना गरिबहरुलाई गरिबीबाट मुक्ति दिलाउन मात्र नभई समाजका हरेक व्यक्तिलाई आवश्यक छ । उच्च शिक्षा हासिल गरेका ठूला ओहदाका मानिसमा समेत कतिपय वित्तीय कारोबारको पूर्ण ज्ञान नभएको स्थिति छ । उपयुक्त वित्तीय शिक्षाको अभावमा उचित निर्णय लिन नसक्दा गम्भीर आर्थिक दुर्घटना हुन गई ठूलो वित्तीय क्षतिसमेत व्यहोर्नुपर्ने र समाजमा नकारात्मक असर पर्ने अवस्थाको समेत आँकलन गर्न सकिन्छ ।
उमेर समूह, शैक्षिक योग्यता, आर्थिक अवस्था आदिका कारण विभिन्न वर्गका मानिसहरूका लागि फरकफरक वित्तीय शिक्षा आवश्यक हुने गर्दछ । मानिसहरू परनिर्भरताबाट आत्मनिर्भरतामा प्रवेश गर्ने क्रम दिनानुदिन बढ्दै गइरहेको छ । आत्मनिर्भर हुँदै जानु भनेको वित्तीय व्यवस्थापनको क्षेत्रमा उनीहरूको भूमिका बढ्दै जानु पनि हो। उपयुक्त वित्तीय साक्षरता तालिम प्राप्त व्यक्तिहरू राम्रो वित्तीय निर्णयहरू लिने र प्रभावकारी रुपमा पैसा व्यवस्थापन गर्ने कार्यमा अब्बल ठहरिन्छन्।
देशको ७५३ वटै स्थानीय तहमा बैंक, वित्तीय संस्थालगायत सहकारी संस्थाहरुको पनि संग्लनता बढिरहेका छन्। धेरैजसो गाउँघरमा विभिन्न बैंक तथा वित्तीय संस्था पुगिसकेको छ। तिनले मानिसहरूलाई बचत, ऋण, बिमा, विप्रेषण, अनलाइन भुक्तानी आदि सुविधा दिइरहेका छन्। तर, सबैले दिने सेवासुविधा तथा तिनका प्रक्रिया फरक–फरक छन्।
बैंक तथा वित्तीय संस्था बढे पनि वित्तीय सेवाको माग, छनोट र प्रयोगको अवस्था भने कमजोर छ।

कतिपय बैंक, वित्तीय संस्था एवम् सहकारी संस्थाले त आफ्ना सेवाप्रति मनिसलाई आकर्षित गर्न झुटा आश्वासन दिने, आफ्नो सेवा लिन बाध्य बनाउने र अनावश्यक ऋणको बोझ थोपर्ने काम गरेका उदाहरण प्रशस्तै छन्। यसरी ऋणको बोझ धान्न नसकेर कति मानिसहरुले घरबास छोड्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जनासमेत हुन पुगेको छ। आवश्यक वित्तीय ज्ञान, सिपको अभाव हुनु नै यसको मूल कारण हो। वित्तीय सेवाको विस्तार भइरहे पनि तिनीहरूको सही प्रयोग नहुँदासम्म मानिसका वित्तीय आवश्यकता पूरा हुन सक्दैनन् त्यसैले सबै मानिसमा वित्तीय सचेतना विस्तार हुनु जरुरी छ। बैंक तथा वित्तीय संस्था बढे पनि वित्तीय सेवाको माग, छनोट र प्रयोगको अवस्था भने कमजोर छ। वित्तीय संस्था बढेर मात्र वित्तीय सेवाको पहुँच बढेको छ, सेवाको गुणस्तर राम्रो छ र समुदायका सबै मानिस यसबाट लाभान्वित छन् भन्न सकिने स्पष्ट आधार छैन। अहिले वित्तीय क्षेत्रमा देखिएको ठूलो चुनौती नै यही हो।
वित्तीय साक्षरताका सकारात्मक प्रयासहरु

नेपालमा झन्डै एक दशकदेखि वित्तीय सचेतना विस्तारका लागि विभिन्न प्रयास भइरहेका छन्। बैंक, वित्तीय संस्थाको क्षमता विकास गर्ने संस्था, आप्रवासनको क्षेत्र तथा विपन्न वर्गको जीविकोपार्जनमा सघाउने सङ्घसंस्था वित्तीय सहकारी आदि सबैले वित्तीय सचेतना विस्तारका लागि विभिन्न प्रयासको थालनी गरेका छन्। वित्तीय साक्षरता गाउँ बस्तीसम्म पुग्न थालेको छ।
भिन्न सङ्घसंस्थाले बेलाबखत वित्तीय साक्षरताका तालिम सञ्चालन गर्ने, रेडियो, टेलिभिजन आदि सञ्चारका माध्यमबाट वित्तीय साक्षरताका सन्देश विस्तार गर्ने, समुदाय तहसम्म पुगेर कक्षा सञ्चालन गर्ने, परामर्श गर्ने, गोष्ठी, र्यालीहरूका साथै अन्य सचेतनामूलक कार्य सञ्चालन गर्ने गरिरहेका छन्। धेर—थोर जति नै भए पनि वित्तीय सचेतना विस्तारका लागि भएका यस्ता प्रयास प्रशंसनीय छन्।
वित्तीय साक्षरतामा देखिएका विकृति र सम्भावनाका आयाम

बैंक, वित्तीय संस्थाहरुबाट सञ्चालित वित्तीय साक्षरताका कार्यक्रमहरु भने प्रभावकारी हुन सकिरहेका छैनन्। केवल राष्ट्र बैंकको निर्देशन परिपालना गर्नका लागि, नियामकको आँखामा छारो हाल्ने काम मात्र भइरहेको पाइन्छ। बैंक, वित्तीय संस्थाहरुले स्कुल तथा कलेजका विद्यार्थीहरुलाई विभिन्न आर्थिक प्रलोभनमा पार्ने, खाजा तथा खानाको व्यवस्था गरिदिने, शैक्षिक सामग्रीको वितरण गरेर मान्छे भेला पारी फोटो सेसन गर्दै मिडियामा प्रेस रिलिज गरी भाइरल गराउने कार्यले निरन्तरता पाइरहेको छ।
वित्तीय साक्षरता सेवामा समुदायका सदस्यहरुको पहुँच बढेपछि संस्थाको कार्य क्षमता र कारोबारसमेत बढ्ने भएकाले यसले व्यक्ति मात्र नभई वित्तीय सेवामा संलग्न सङ्घ संस्थाहरुलाई पनि ठूलो सहयोग पु¥याउँछ ।
यसरी सस्तो प्रचारबाजीका शृङ्खलाहरुमा लयबद्ध भएर गरिने क्रियाकलापहरुले असली रुपमा वित्तीय साक्षरताको मर्मअनुरुपका कार्य सम्पादन गर्न सक्दैन । सिरानीमुनि राख्ने गरेको रकम किन बैंकमा जम्मा गर्ने बानीको विकास गर्नुपर्छ ? अनलाइन भुक्तानी गर्दा कसरी सरल र सहज सेवा ग्रहण गर्न सकिन्छ ? विदेशबाट पठाइने रकम हुन्डी गर्नुका सट्टा किन बैंकिङ माध्यमबाट कारोबार गरिनुपर्छ ? भन्ने जस्ता महत्त्वपूर्ण घटकहरुमाथि चेतनामूलक लघुनाटक सञ्चालन गरेर होस् या गीतिशैलीबाट स्थानीय तहमा वित्तीय साक्षरताको लहरको उज्यालो फैलाउन सकेमा मात्रै बैंकिङ क्षेत्रबाट परिचालित वित्तीय साक्षरताले सार्थकता प्राप्त गर्न सक्दछ ।

यस कार्यमा नियामक निकायको प्रभावकारी अनुगमन हुनु जरुरी छ । यसका साथै बैंक तथा वित्तीय संस्थाहरुले पनि नाफा वा फाइदाका लागि मात्र नभई इमानदारीका साथ सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने देखिन्छ । यस्ता कार्यले अन्ततोगत्वा बैंक तथा वित्तीय संस्थालाई नै फाइदा पुग्ने हुँदा वित्तीय साक्षरताको प्रभावकारिताका विषयमा सम्बन्धित व्यक्ति वा संस्था उत्तरदायी हुनु जरुरी देखिन्छ । वित्तीय साक्षरता सेवामा समुदायका सदस्यहरुको पहुँच बढेपछि संस्थाको कार्य क्षमता र कारोबारसमेत बढ्ने भएकाले यसले व्यक्ति मात्र नभई वित्तीय सेवामा संलग्न सङ्घसंस्थाहरुलाई पनि ठूलो सहयोग पु¥याउँछ ।
बैंक, वित्त तथा भुक्तानी सेवा प्रदायक संस्थाहरुले वित्तीय सेवा उपलब्ध गराउने क्रममा आफ्ना सेवा वा उत्पादनहरूका बारेमा राम्ररी बुझ्न, उक्त उत्पादनसँग जोडिएका जोखिमको घनत्व एवम् गहिराइको पहिचान गर्न र त्यसलाई व्यवस्थापन गर्न एवम् आफ्ना ग्राहकको वास्तविक आवश्यकतालाई पहिचान गरी उत्पादनहरूलाई परिमार्जन गर्न समेत सो कार्यले सहयोग पुर्याउने गर्दछ ।
- वित्तीय साक्षरता आर्थिक मासिक पत्रिका (पहिलो अंक)
