February 10, 2025

Global Money Week को अवधारणा र विकासक्रम

ग्लोबल मनी विक सन् २०१२ मा बालबालिका र युवाहरूलाई लक्षित गरी विश्वव्यापी वित्तीय सचेतना अभियानको रूपमा सुरु भएको थियो। विश्वभरका युवाहरूमाझ वित्तीय साक्षरता र समावेशीकरणलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेदरल्याण्ड्सको एम्स्टर्डममा रहेको गैर नाफामूलक संस्था Child & Youth Finance International (CYFI)  द्वारा यो पहल सुरु गरिएको हो ।

युवाहरूलाई जिम्मेवार र सचेत नागरिक बन्न, आफ्नो व्यक्तिगत वित्तीय व्यवस्थापनलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न र अर्थतन्त्रमा योगदान दिन सक्ने बनाउन वित्तीय शिक्षा महत्वपूर्ण छ भन्ने अनुभूतिबाट ग्लोबल मनी विकको अवधारणा विकसित भएको हो । विश्वव्यापी रुपमा १० देखि २४  उमेर समूहका १.२ बिलियनभन्दा बढी युवाहरूसँग, ग्लोबल मनी विकले वित्तीय भविष्य नियन्त्रण गर्न र थप समतामूलक र दिगो संसार सिर्जना गर्न सशक्त बनाउन प्रयत्नरत छ ।

स्थापनाकालदेखि नै यो अभियान १७६ देशहरूमा आयोजना भइसकेको छ ।  हालसम्म यस अभियान ५३ मिलियन बालबालिका र युवाहरूसम्म पुगेको छ । यसका १० संस्करणको अवधिमा भएको यो प्रभावशाली वृद्धि र प्रभावले भावी पुस्ताका लागि वित्तीय शिक्षाको महत्व र आर्थिक रूपमा साक्षर एवम् समावेशी विश्व सुनिश्चित गर्न त्यस्ता पहलहरूमा लगानी जारी राख्नुपर्ने आवश्यकतालाई प्रकाश पार्दछ ।

विद्यालय, युवा संगठन, सरकार, वित्तीय संस्था र नागरिक समाज समूहहरू लगायत विभिन्न सरोकारवालाहरूद्वारा आयोजना गरिएका कार्यक्रमहरू र गतिविधिहरू सहितको पहिलो ग्लोबल मनी विक २०१२ मा आयोजना गरिएको थियो । त्यसबेलादेखि, ग्लोबल मनी विक एक वार्षिक कार्यक्रमको रुपमा विश्वब्यापी मनाइन्छ । जसमा विश्वभरका करिब १७५ भन्दा बढी देशहरूमा गतिविधि र कार्यक्रमहरू आयोजना गरिन्छ ।

सप्ताहव्यापी रुपमा मनाइने यो अभियान सामान्यतया प्रत्येक वर्ष मार्चमा आयोजना गरिन्छ र यसले वित्तीय शिक्षा कार्यशालाहरू, बचत अभियानहरू, उद्यमशीलता प्रतियोगिताहरू र वित्तीय साक्षरता खेलहरूजस्ता गतिविधिहरूको दायरा समावेश गर्दछ। यी गतिविधिहरूमार्फत्, ग्लोबल मनी विकले वित्तीय शिक्षा र समावेशीकरणको महत्वबारे चेतना जगाउने र युवाहरूलाई जिम्मेवार वित्तीय नागरिक बन्न प्रेरित गर्ने लक्ष्य राखेको छ ।

  • वित्तीय साक्षरता आर्थिक मासिक पत्रिकामा प्रकाशित (सातौँ अंक– २०७९ फागुन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *